इटहरी । प्रतिनिधिसभा निर्वाचनको एक महिना बितेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो दलको नेता छान्न सकेको छैन । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सीट जितेको कांग्रेसले संसदीय दलको नेता नछान्दा संसदले प्रमुख प्रतिपक्षी दलको नेता पाउन सकेको छैन ।प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख चयन नहुँदासम्म जिम्मेवारी निर्वाह गर्नुपरेको कारण देखाएर ढिलो गरेको भएपनि मूलतः सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीचको विवादका कारण दलको नेता चयनमा ढिलाइ भएको हो ।कांग्रेसमा संसदीय दलको नेताका लागि मुख्यतः तीनजना दाबेदार देखिएका छन् । कांग्रेस सांसदमध्ये सबैभन्दा सिनियर र संसदकै ज्येष्ठ सदस्य भएकोले आफ्नो स्वभाविक दाबी रहेको अर्जुननरसिंह केसीले बताउने गरेका छन् । केसी सभापति थापाका ससुरा हुन् । केसीलाई दलको नेता बनाउँदा आफ्नो आलोचना बढ्ने डर सभापति थापालाई छ ।यहीकारण समानुपातिक नभएर निर्वाचित सांसदमध्येबाट दलको नेता छान्न सभापति थापाको प्रस्ताव छ । प्रत्यक्ष निर्वाचितमध्ये केन्द्रीय सदस्य मोहन आचार्य सभापति थापाको पहिलो प्राथमिकतामा छन् । जो रसुवाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । ‘अर्जुन दाइलाई त समानुपातिकमै नराख्न, राखे पनि सांसद नबनाउन पार्टीभित्र दबाब थियो ।अब दलको नेता नै बनाउँदा सभापतिलाई अप्ठ्यारो पर्छ । त्यसैले उहाँले प्रत्यक्ष निर्वाचितमध्येबाट दलको नेता बनाउन चाहनुभएको छ’, थापा निकट एक कांग्रेस पदाधिकारीले नेपाल प्रेससँग भने ।सभापति थापाको प्रस्तावमा उपसभापति शर्मा सहमत छैनन् । उपसभापति शर्मा पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बेको पक्षमा छन् । उपसभापति शर्माकै गृहप्रदेशलाई प्रतिनिधित्व गर्ने आङदेम्बे पनि समानुपातिक सांसद हुन् । केसीको विकल्पमा शर्माले आङदेम्बेलाई अघि सारेपनि सभापति थापा सकरात्मक छैनन् ।विशेष महाधिवेशनको पक्षमा नखुलेका आङदेम्बेलाई दलको नेता बनाउँदा भविष्यमा दलमा आफ्नो पकड नरहने सभापतिको बुझाई छ । आङदेम्बेले पहिलो संसद बैठकमा सम्बोधन गर्ने क्रममा ‘विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर कांग्रेस बदलिएको’ उल्लेख गरेका थिए ।विगतमा विशेष महाधिवेशनको पक्षमा नभएपनि दलको नेता बन्न उपसभापति शर्माको सुझावमा सभापति थापालाई रिझाउनेगरी आङदेम्बेले संसदमा बोलेको चर्चा कांग्रेस वृत्तमा छ ।‘सभापतिले प्रत्यक्ष निर्वाचित सांसदबाट दलको नेता बनाउन चाहनुभएको छ । उपसभापतिले भीष्मदाईको नाम लिनुभएकोले कुरा मिलेको छैन । तर सहमतिमै संसदीय दलको नेता छान्ने प्रयास भइरहेको छ’, एक कांग्रेस सांसदले नेपाल प्रेससँग भने ।कांग्रेसको कार्यसम्पादन समितिले चैत २४ गते दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम गर्ने निर्णय गरेको थियो । संसदीय दलको निर्वाचन प्रक्रिया अगाडि बढाउन सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको पनि थियो ।यद्यपि सभापति थापा र उपसभापति शर्माबीचको विवादकै कारण निर्वाचन कार्यक्रम अगाडि नबढाउन निर्देशन गरिएको छ ।‘निर्वाचनको जिम्मा सहमहामन्त्रीलाई दिएको सत्य हो । तर, के कति कारणले निर्वाचन कार्यक्रम अगाडि बढेको छैन मलाई थाहा भएन’, सभापति थापानिकट एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।सभापति थापाले कार्यव्यवस्था परामर्श समिति लगायत सभामुख र संसद सचिवालयसँगका तयारी बैठकहरुमा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्यलाई खटाउने गरेका छन् । दलको नेतामा दावी गरेका नेता केसी र उपसभापति शर्मालाई ‘कन्भिन्स’ गरेर सहमतिमै प्रत्यक्ष निर्वाचित मध्येबाट दलको नेता बनाउने जानकारी सभापति थापाले निकटस्थहरुलाई दिएका छन् ।जबकी नेता अर्जुननरसिंह केसीले भने दलको नेतामा दावी नछाड्ने अडान लिएका छन् । ‘की अर्जुन दाइजत्तिकै सिनियर मान्छे देखाउनुपर्यो, कि यस कारण अयोग्य हुनुहुन्छ भन्दिनुपर्यो । नत्र संसदकै अभिभावकका रुपमा रहेको व्यक्तिलाई दलको नेता बनाउन के को अप्ठ्यारो रु’, केसी निकट केन्द्रीय सदस्यको भनाइ छ ।दलको नेता चयनमा देखिएको विवाद मिलाउन कांग्रेसमा निरन्तर संवाद भइरहेको छ तर अहिलेसम्म समाधान देखिएको छैन ।‘१५ औं महाधिवेशन लागिसकेको जस्तो छ । ठूल्ठूला कुरामा मिलेका नेताहरु अहिले सानो कुरामा पनि मिल्न गार्हो मान्नुभएको छ’, कांग्रेसकै एक पदाधिकारीको भनाई छ ।कांग्रेसमा दलको नेतासँगै उपनेता, प्रमुख सचेतक र सचेतकको समेत चयन हुनुपर्ने छ । सहमति नबनेको अवस्थामा हुने निर्वाचन त्रिपक्षीय हुने पक्का छ । जहाँ सभापति थापाको उम्मेदवारको रुपमा मोहन आचार्य, उपसभापति शर्माको उम्मेदवारका रूपमा भीष्मराज आङदेम्बे र स्वतन्त्र रूपमा अर्जुननरसिंह केसी उम्मेदवार बन्नेछन् ।विशेष महाधिवेशनको विपक्षमा रहेको पुरानो संस्थापन पक्षको मत निर्णायक देखिन्छ । उनीहरुपनि दलको नेतामा निर्वाचन नै होस् भन्ने चाहन्छन् ।‘हामी सकभर दलको नेता सर्वसम्मत हुन दिन्नौं । दलको नेतामा प्रतिस्पर्धाबाटै चुनिने कांग्रेसको परम्परा हो’, पुरानो संस्थापनका एक सांसदले भने ।
खगेन्द्र कार्की
२५ चैत २०८२, बुधबार ०९:१७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो