गएको २४ घण्टामा के के भए छोटकरीमा पढौं

फाष्ट मिडिया नेपाल संवाददाता

भेनेजुएलाले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकालाई हस्तान्तरण

अमेरिकाले भेनेजुएलामाथि गरेको अत्याचारमा धेरै देशहरु बोले अहिले त्यही भेनेजुएलाका विपक्षी दलका नेता मारिया कोरिना माचाडोले पाएको नोबेल शान्ति पुरस्कार त्यही अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिने घोषणा मात्र गरिनन् हस्तान्तरण नै गरिसकिन रु ‘मेरो कामको सम्मानस्वरूप मारियाले आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गर्नु पारस्परिक सम्मानको सुन्दर संकेत हो । धन्यवाद मारिया,’ ट्रम्पले भनेका छन्।

भूटानी राजनीतिक बन्दिप्रति सर्वोच्चको आदेशको स्वागत

भूटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि गठित विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले नेपालको सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । गएको जनवरी ९ मा सर्वोच्चको फैसलाले नेपालमा रहेका शरणार्थीहरूलाई तेस्रो देशमा पुनर्वासबाट रोक्न नपाइने र उनीहरूलाई अध्यागमन कानूनअन्तर्गत साधारण विदेशी नागरिकसरह व्यवहार गर्न नमिल्ने स्पष्ट पारेको छ । अदालतले अध्यागमन उल्लङ्घन र जरिवाना नतिरेको आरोप लगाउँदै झापाको बेलडाँगी शरणार्थी शिविरमा बसोबास गर्ने एक भूटानी शरणार्थी परिवारलाई क्यानडा जानबाट रोकेको गृहसचिवस्तरीय निर्णय उल्ट्याएको छ । अदालतले मान्यता प्राप्त शरणार्थीहरूलाई म्याद सकिएका परिचयपत्र वा निर्धारित अवधि नाघेर बसोबास गरेका कारण दण्डित गर्न नमिल्ने स्पष्ट गरेको छ ।

इमान्दार नेतृत्व र दीर्घकालिन दृष्टिकोण आवश्यक ः बालेन्द्र शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई अब लोकप्रिय नारा नभई इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको स्मरण गरेका छन् । काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरिएको उल्लेख गर्दै उनले गोरखादेखि देशका ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको बताएका छन् ।

इन्धनका मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । 

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।

ट्राफिकको सचेतना

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बिहीबार सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ ।

दुर्घटना न्यूनीकरण विशेष अभियानअन्तर्गत प्रहरीले आज थप स्कुल कलेजका ६६ जना विद्यार्थीलाई सचेतना, एक हजार ५१२ जनालाई रात्रिकालीन विशेष सचेतना, पाँच हजार ३१५ जना दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम, दुई हजार ७४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, तीन हजार ६१४ जनालाई यात्रुसँग सचेतनामूलक कार्यक्रम गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

३३ किलो सुन काण्डमा सनको हत्या आरोपमा पक्राउ

नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

जेनजीको नेतृत्व गरेका भनिएका मिराज र माओवादीबीच सहमति

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच ४ बुँदे सहमति भएको छ। 

नेकपा (माओवादी)का महासचिव विप्लव र ढुंगानाले बिहीबार उक्त सहमतिपत्रमा हस्ताक्षर गरे ।


सरकार बनाउने र ढाल्ने ओलीका अधिव्यक्ति

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरूको सरकार बनेमा संघर्ष गरेर ढाल्ने बताएका छन् । 

४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तकको बिहीबार विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानमा लागिरहेको बताए ।

विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् । 

कांग्रेसको अधिकारिकता दाबी गर्नका लागि आवश्यक कागजातसहित उनीहरू बिहीबार दिउँसो कान्तिपथस्थित आयोग पुगेका हुन् । पदाधिकारीसहित केन्द्रीय सदस्यहरू पनि आयोग पुगेका थिए ।

चाँडै विवरण अद्यावधिक गर्नेमा गगन निर्वाचन आयोगप्रति ढुक्क

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाले निर्वाचन आयोगले विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गर्ने विश्वास लिएका छन् ।

विशेष महाधिवेशनले गरेका निर्णयसहित अद्यावधिकका लागि बिहीबार दिउँसो आयोग पुगेका थापाले यस्तो बताएका हुन् ।

विशेष महाधिवशनबाट भएका नीति र नेतृत्व परिवर्तनको निर्वाचन आयोगलाई जानकारी

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरेकोबारे निर्वाचन आयोगलाई जानकारी गराइएको बताएका छन् ।

उनले कांग्रेस विभाजन भएको भन्ने प्रश्न असान्दर्भिक रहेको बताए । बिहीबार निर्वाचन आयोगमा पुगेर पार्टीको विशेष महाधिवेशन भएकोबारे जानकारी गराएपछि शर्माले विभाजन भएको भन्ने कुरा अस्वीकार गरेका हुन् ।

गगनले लेख्ने घोषणापत्र

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ ।

बिहीवार कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सभापतिको संयोजकत्वमा घोषणा पत्र लेखन समिति बनाएको हो ।

नवनियुक्त प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।


देउवा पक्षीय कांग्रेसको कार्यसमितिबाट ले गगन, विश्वप्रकाश  फर्मुल्लाहको नाम हट्यो

नेपाली कांग्रेस (देउवा पक्ष)ले आफ्नो कार्य समितिबाट दुई महामन्त्री र सहमहामन्त्रीको नाम हटाएको छ ।

कांग्रेसको आधिकारिक वेबसाइटमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरको नाम हटाएको हो ।

सरकारका आम्दानी र खर्च दुवै कमजोर

चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया