धनकुटा । श्री नं. २ वाहिनी अड्डा, हिले ब्यारेकमा वैशाख २३ गतेदेखि “वाहिनीपति ट्रफी–2083” सुरु भएको छ । सैनिकहरूबीच सामूहिक भावना विकास गर्दै प्रतियोगितामार्फत उत्कृष्ट नतिजा हासिल गर्नुका साथै राष्ट्रका लागि सम्भावित उत्कृष्ट खेलाडीहरूको पहिचान गर्ने उद्देश्यले हरेक वर्ष वाहिनीपति ट्रफी सञ्चालन हुँदै आएको जनाएको छ ।
प्रतियोगिताअन्तर्गत फुटबल, बास्केटबल, भलिबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, पौडी तथा दौड प्रतियोगिता गरी जम्मा ९ वटा विधामा खेल सञ्चालन गरिने भएको छ ।
प्रतियोगितामा श्री नं. २ वाहिनी अड्डा अन्तर्गत रहेका विभिन्न गण तथा गुल्मका खेलाडीहरूको सहभागिता रहेको छ । जसअनुसार धनकुटामा तैनाथ श्री भीमदल गण, सुनसरीमा तैनाथ श्री भगवतीदल गण र श्री भीमकाली गुल्म, मोरङमा तैनाथ श्री शिवदल गण, भोजपुरमा तैनाथ श्री नयाँ श्रीनाथ गण, संखुवासभामा तैनाथ श्री इन्द्रदल गुल्म र श्री रणदल गुल्म तथा तेह्रथुममा तैनाथ श्री शत्रुमर्दन गुल्मका खेलाडीहरू प्रतियोगितामा सहभागी रहेका छन् ।
प्रतियोगिताका अधिकांश खेलहरू धनकुटास्थित हिले ब्यारेक, सल्लेरी ब्यारेक र तल्लो टुँडिखेलमा सञ्चालन हुनेछन् भने पौडी प्रतियोगिता सुनसरी जिल्लामा आयोजना गरिने जानकारी दिइएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन वैशाख २३ गते स्थानीय जनप्रतिनिधि, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा श्री नं. २ वाहिनी अड्डा अन्तर्गतका युनिटपतिहरूको उपस्थितिमा गरिएको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले गरेका हुन् ।
वैशाख ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले सैनिक खेलकुद गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो