६ करोड बढी रकम ठगी गरेर विदेश पलायन भएकी टिकटकर अधिकारी पुर्पक्षमा

खगेन्द्र कार्की

इटहरी । थाइल्याण्डमा पक्राउ परी ललितपुर प्रहरीमा बुझाइएकी टिकटकर तुलसी अधिकारीलाई सोमबार जिल्ला अदालतमा पेश गरिँदैछ । उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दाको पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रूपैयाँ ठगी मुद्दा दर्ता भएको छ । चिमोरियाले २०८२ साउन २४ गते प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि उनी फरार भइन् ।

पहिला चीनका विभिन्न भागमा रहेको सूचना पाएपछि प्रहरीले डिफ्युजन नोटिस (रेडकर्नर) जारी गरेको थियो । चीनबाट भागेर थाइल्याण्ड पुगेकी उनलाई अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहायतामा त्यहीँबाट पक्राउ गरिएको हो ।

व्यवसायी चिमोरियासँग उनको विवाहेत्तर सम्बन्ध थियो । आपसी सम्बन्ध बिग्रिएपछि जबरजस्ती करणीमा मुद्दामा फसाइदिने भनी धम्क्याउने गरेकी थिइन् । त्यसरी धम्क्याउँदै पटक पटक पैसा र गरगहना लिएको प्रहरी अनुसन्धानबाट खुल्ने अनुसन्धानरत एक प्रहरीले बताए ।

खगेन्द्र कार्की
प्रतिक्रिया