इटहरी । सुशासनको माग गर्दै जेनजी आन्दोलनपछि बनेको सरकारका तत्कालीन सञ्चारमन्त्री जगदीश खरेल अनुसन्धानको घेरामा परेका छन् । स्मार्ट टेलिकम प्रकरणमा राज्यलाई अर्बौं रुपैयाँ नोक्सान भएको आरोपसँगै उनीमाथि छानबिनको दायरा बढ्दै गएको हो ।
राजधानी दैनिकका अनुसार स्मार्ट टेलिकमको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको सूचना चुहिएपछि खरेल हाल स्वीट्जरल्याण्ड गएको बताइएको छ। सो प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, एनसेलका सञ्चालक र नेपाल मेगा इन्भेस्टमेन्ट बैंकसमेत जोडिन सक्ने संकेतपछि अनुसन्धान थप विस्तारित भएको छ ।
सीआईबीले मंगलबार स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेसँगै आपराधिक विश्वासघात र करिब ७ अर्ब रुपैयाँ हिनामिना भएको विषयमा अनुसन्धान अघि बढाएको हो । जोशीको गिरफ्तारीपछि अन्य संलग्न व्यक्तिहरू पनि अनुसन्धानमा तानिने डरले भागाभागको अवस्था बनेको स्रोतको दाबी छ ।
आरोपअनुसार तत्कालीन सञ्चारमन्त्री खरेलको मौन सहमति र हस्तक्षेपका कारण सरकारी स्वामित्वमा पुगेको स्मार्ट टेलिकमको सम्पत्ति कौडीको मूल्यमा एनसेललाई बिक्री गरिएको थियो । साथै, क्लासिक टेकको बक्यौता असुल नगरी लाइसेन्स नवीकरणमा सहजीकरण गरिएको र फाइल प्रक्रियामा दबाब दिएको आरोपसमेत उनीमाथि छ ।
अनुमतिपत्र नवीकरण दस्तुरसहित करिब ३० अर्ब रुपैयाँ बक्यौता नतिरेपछि स्मार्ट टेलिकमको लाइसेन्स २०८० वैशाख ३ गते स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको थियो । त्यसपछि सम्पूर्ण सम्पत्ति सरकारी स्वामित्वमा आएको भए पनि पछि बिक्री प्रक्रिया अघि बढाइएको बताइन्छ ।
स्मार्ट टेलिकमको सम्पत्ति ४ अर्ब ६० करोड रुपैयाँमा बिक्री भएको विषयमा समेत प्रश्न उठिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले निष्पक्ष अनुसन्धानको निर्देशन दिएको बताइए पनि खरेलको विदेश प्रस्थानले शंका थपिएको छ ।
सरकार र सम्बन्धित निकायले यस विषयमा आधिकारिक छानबिन अघि बढाउने संकेत गरेका छन् भने राजनीतिक वृत्तमा यो प्रकरणले ठूलो तरंग पैदा गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो