–: डा. शंकर शर्मा :–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमणलाई सामान्य राजनीतिक भ्रमणका रूपमा मात्र हेर्न मिल्दैन। भारतीय जनता पार्टीको निमन्त्रणामा भएको यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना र सकारात्मक सन्देश दिएको छ। विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामिछानेलाई दिएको समय, सम्मान र स्वागतले नेपालप्रति भारतको विश्वास र सद्भाव प्रष्ट पारेको छ।नेपालमा अहिले बहुमतको नयाँ सरकार छ र त्यसको नेतृत्व गर्ने शक्तिका रूपमा रास्वपा उदाएको छ। यस्तो अवस्थामा पार्टीका सभापतिले भारतको सत्तारुढ दलसँग संवाद गर्नु स्वाभाविक र सकारात्मक विषय हो। भारतले नेपालको समृद्धि, आर्थिक साझेदारी र आपसी सहकार्यका लागि खुला रूपमा इच्छा व्यक्त गरेको देखिन्छ। यसलाई नेपालले कूटनीतिक रूपमा सदुपयोग गर्न सक्नुपर्छ।भारतले ‘रेड कार्पेट’ स्वागत र ‘ग्रीन सिग्नल’ दुवै दिएको सन्देश अहिले देखिएको छ। विगतमा समाधान हुन नसकेका विषयहरू, विशेषगरी सीमा विवाद, व्यापार, कनेक्टिभिटी र आर्थिक सहकार्यका मुद्दाहरूलाई अब कूटनीतिक ढंगले टुंग्याउने अवसर सिर्जना भएको छ। तर त्यसका लागि नेपालले आफ्नो गृहकार्य पूरा गर्नुपर्छ। भावनात्मक अभिव्यक्तिभन्दा तथ्य, प्रमाण र स्पष्ट रणनीतिका आधारमा वार्तामा जान आवश्यक छ।लामिछानेको भ्रमण पार्टीगत थियो, सरकारी होइन। त्यसैले कालापानी, लिपुलेक, लिम्पियाधुरा वा अन्य संवेदनशील सीमा विवादका विषयमा विस्तृत छलफल नहुनु स्वाभाविक हो। यस्ता विषय सरकारी संयन्त्र, विज्ञ र प्राविधिक टोलीको सहभागितामा मात्र अघि बढ्न सक्छन्। त्यसकारण भ्रमणका क्रममा ती विषय नउठाइनुलाई कमजोरीका रूपमा लिनु उपयुक्त हुँदैन।अब मुख्य जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको काँधमा आएको छ। भारतसँगको अनुकूल वातावरणलाई उपयोग गर्दै उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउनुपर्छ। दुई देशबीच रहेका जटिल विषयहरू सार्वजनिक आरोप–प्रत्यारोपबाट होइन, टेबल टक र आपसी विश्वासबाट समाधान गर्न सकिन्छ।भारतले नेपालप्रति देखाएको सद्भाव र सम्मानलाई शंकाको दृष्टिले भन्दा अवसरको रूपमा हेर्न आवश्यक छ। अहिलेको सकारात्मक माहोललाई परिणाममुखी बनाउन सके नेपालले आर्थिक, पूर्वाधार र कूटनीतिक क्षेत्रमा उल्लेखनीय लाभ लिन सक्छ। त्यसका लागि आत्मविश्वास, तयारी र परिपक्व कूटनीति आवश्यक छ।(पूर्वराजदुत डा. शंकर शर्मासँग खबरहबले गरेको कुराकानीमा आधारित)
(पूर्वराजदुत डा. शंकर शर्मासँग खबरहबले गरेको कुराकानीमा आधारित)
फाष्ट मिडिया नेपाल संवाददाता
२१ जेठ २०८३, बिहिबार ०९:०३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो