काठमाडौँ — पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समिति बैठक १९ चैतदेखि पार्टी मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडामा जारी छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था, चुनावी समीक्षासँगै बृहत् वामपन्थी एकताको विषय मुख्य एजेन्डाका रूपमा उठेको छ। नेताहरूबीच वाम शक्तिहरूको विखण्डनले चुनावी परिणाममा नकारात्मक असर पारेको निष्कर्षसहित अब एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा बलियो बन्दै गएको छ।
बैठकमा युवा नेताहरूले परम्परागत शैलीको एकताले मात्रै पर्याप्त नहुने भन्दै रूपान्तरणसहितको नयाँ ढंगको एकता आवश्यक रहेको बताएका छन्। युवा नेता रञ्जित तामाङ ले कम्युनिष्ट आन्दोलनलाई पुस्तान्तरणसहित पुनर्गठन गर्दै बृहत् एकतामा लैजानुपर्ने बताए। उनका अनुसार अहिले वाम आन्दोलनसँग दुई विकल्प मात्र छन्—पुनर्गठनसहित एकता वा विघटनको जोखिम। २०७४ सालको एकताको पुनरावृत्ति नभई नयाँ सन्दर्भमा रूपान्तरण आवश्यक रहेको उनको जोड छ।
अर्का युवा नेता माधव सापकोटा ले पनि परम्परागत एकताको मोडेल असफल भइसकेको उल्लेख गर्दै पहिले आन्तरिक पुनर्गठन र त्यसपछि मात्र समग्र वाम एकताको प्रक्रियामा जानुपर्ने बताए। उनले महाधिवेशनमार्फत पार्टी सुदृढीकरण गरेर नयाँ वैचारिक आधारमा एकता गर्नुपर्ने धारणा राखे। यस्तै, रामप्रसाद सापकोटा ले सामान्य सुधारले नपुग्ने भन्दै ‘प्रलयकारी रूपान्तरण’ आवश्यक रहेको टिप्पणी गरेका छन्।
बैठकमा प्रस्तुत प्रतिवेदनमा संयोजक प्रचण्डले वाम मत विभाजनका कारण २७ निर्वाचन क्षेत्रमा हार बेहोर्नुपरेको उल्लेख गरेका छन्। वाम शक्तिहरू एकजुट भएको भए अझ बढी मत प्राप्त हुन सक्ने उनको विश्लेषण छ।
वरिष्ठ नेता झलनाथ खनाल ले वामपन्थी एकताका लागि लिखित प्रस्ताव पेश गर्दै वैचारिक बहसमार्फत मतभिन्नता घटाउँदै अन्ततः एकताबद्ध हुनुपर्ने बताएका छन्। उनले देशमा एउटै कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारे।
यसैगरी, वामदेव गौतम ले वैज्ञानिक समाजवादी क्रान्तिका लागि बृहत् कम्युनिष्ट एकता अपरिहार्य भएको बताए भने राजेन्द्र श्रेष्ठ ले वर्तमान परिस्थितिमा कम्युनिष्टहरूबीच मिलनको विकल्प नरहेको धारणा राखे।
बैठकमा सहभागी अधिकांश नेताहरूले वाम शक्तिहरूलाई एउटै धारमा ल्याउने पहल तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्। पार्टीभित्र र बाहिरका कम्युनिष्ट घटकहरूसँग संवाद बढाउँदै साझा कार्यदिशा तय गर्नुपर्ने निष्कर्षतर्फ बैठक उन्मुख देखिएको छ।
नेकपाका नेताहरूले अबको राजनीतिक यात्रामा सुदृढ एकता, स्पष्ट वैचारिक दिशा र संगठनात्मक पुनर्संरचनालाई प्राथमिकतामा राख्ने संकेत दिएका छन्। यसले आगामी दिनमा नेपाली वामपन्थी राजनीतिमा नयाँ समीकरण निर्माण हुने सम्भावना देखिएको छ। thaha khabar