विभिन्न स्थानमा आगलागी हुँदा लाखौंको क्षति, मोरङको उर्लाबारी आगो नियन्त्रणका क्रममा २७ घाइते

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । मोरङ, खोटाङ र सुनसरीलगायत विभिन्न स्थानमा लक्ष्मी पुजाको आगो सल्किँदा लाखौंको क्षति मात्र भएन २७ जना घाइते भएरका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित सुन पसलमा भएको आगलागीबाट ति सबै २७ जना घाइते भएका हुन् । लक्ष्मी पुजाको आगो सल्किएर दिपक कार्कीको सुन पसलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा उनीहरु घाइते भएको उर्लाबारी इलाका प्रहरी कार्यालयले जनाएको छ । 

इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासकाअनुसार  आगो निभाउने क्रममा २७ जना घाइते भएका हुन्। घाइतेहरुको विराटनगरको आर्या अस्पताल, विर्तामोडको विएण्डसी, उर्लाबारीको अरनिको र केहीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोको मुस्लो उनीहरुमाथि सल्किँदा घाइते भएका थिए। 

आगलागीबाट केहीको अवस्था गम्भीर रहेको छ। आगो नियन्त्रणमा लिनका लागि आधा दर्जन दमकल प्रयोग गर्नु परेको थियो। आगो राती १२ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।यस्तै आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घर जलेको छ। जसबाट रु २५ लाख भन्दा बढीको क्षति भएको छ।  

घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले घरको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

यसैगरी सुनसरी सदरमुकाम इनरुवा–१ मुख्य बजारस्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको छ।  

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का  जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया