इटहरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागले आयोजना गरेको स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेलाले १० बुँदे कार्यदिशा पारित गरेको छ।
बिहीबार सम्पन्न दुई दिने भेलाले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि विशेष मार्गनिर्देशन तय गरेको छ। भेलाले पारित गरेको कार्यदिशामा स्थानीय सरकारलाई जनताको घरदैलोको सरकारका रूपमा स्थापित गर्दै जनसेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरिएको छ।
यस वर्षलाई ‘कार्यसम्पादन केन्द्रित वर्ष’का रूपमा मनाउने निर्णय गर्दै अधुरा योजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने नीति लिइएको छ। यस्तै, सेवा प्रवाहलाई छिटो, सरल र प्रविधिमैत्री बनाउँदै सुशासन, वित्तीय अनुशासन र बेरुजु व्यवस्थापनमा कडाइ गरिने कार्यदिशामा उल्लेख छ।
भेला मुख्यतः विचार, विधि, प्रविधि र संगठन गरी चार वटा एजेन्डामा केन्द्रित रहेको नेता अग्निप्रसाद सापकोटाले बताए। निर्वाचनको रणनीतिका सम्बन्धमा बोल्दै नेता सापकोटाले पार्टीले सुरुमा आन्तरिक सुदृढीकरण र संगठन समायोजनलाई पूर्णता दिने जानकारी दिए।
अन्य नयाँ राजनीतिक शक्तिहरूसँग स्वस्थ प्रतिष्पर्धा गर्न पार्टी तयार रहेको र जनताका अपेक्षा पूरा गर्न अधिकतम प्रयत्न गरिने उनको भनाइ छ। सापकोटाले पार्टीको वर्ग दृष्टिकोणमा केही कमजोरी भएको स्वीकार गर्दै अबका दिनमा दलित, महिला, आदिवासी जनजाति र सुकुम्वासीका मुद्दामा थप एकाकार भएर अघि बढ्ने प्रतिबद्धता जनाए।
भेलामा सातै प्रदेशका इन्चार्ज, संयोजक, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूसहित करिब १५० जनाको सहभागिता रहेको थियो। भेलाले प्रत्येक स्थानीय तहमा नमुना र उदाहरणीय कार्य गर्दै समाजवादउन्मुख नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने संकल्प समेत गरेको छ।
फाष्ट मिडिया नेपाल संवाददाता
१४ जेठ २०८३, बिहिबार ०७:१३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो