त्रिभुलीमा माछा मार्न पसेका चेपाङ बेपत्ता
माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ स्यादुलका ४२ वर्षीय रामकुमार चेपाङ माछा मार्ने क्रममा नदीमा बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार चेपाङ आफ्ना दुई छोरासहित माछा मार्न गएका थिए । सोही क्रममा पौडी खेल्ने प्रयास गर्दा उनी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
१५ दिनमै तलब भुक्तानी दिन महालेखाको निर्देशन
महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारका कर्मचारीलाई अबदेखि हरेक १५–१५ दिनमा तलबभत्ता भुक्तानी गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । अर्थमन्त्रीस्तरको वैशाख ४ को नीतिगत मार्गदर्शनअनुसार यो व्यवस्था लागू गरिएको हो ।
यो प्रणालीलाई हाल परीक्षणका रूपमा संघीय कर्मचारीमा मात्र लागू गरिएको छ । प्रदेश र स्थानीय तहले भने आफ्नो आवश्यकताअनुसार निर्णय लिन सक्नेछन् । शिक्षकलगायतको तलब निकासामा बजेट प्रक्रिया फरक भएकाले सम्बन्धित पालिकाले उपयुक्त निर्णय गर्न सक्ने महालेखाले जनाएको छ ।
अदालतको आदेशबाट पनि थुनामुक्त भएनन गोल्छा
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी मुद्दामा धरौटी वा जमानतमा रिहा गर्न आदेश दिए पनि उनी अझै थुनामै रहेका छन् ।
उनी दुई फरक मुद्दा—धितोपत्र र बीमा सम्बन्धी—अनुसन्धानका लागि पक्राउ परेका थिए। अदालतले सोमबार केवल धितोपत्र मुद्दामा रिहा गर्न आदेश दिएको भए पनि बीमा सम्बन्धी मुद्दामा आदेश नआएकाले उनी छुटेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनी हाल बीमा सम्बन्धी मुद्दामा हिरासतमा नै छन् । उनी वैशाख ११ गते नेपाल धितोपत्र बोर्डको प्रतिवेदनका आधारमा पक्राउ परेका थिए ।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई ४६ अर्ब फिर्ता गर्ने प्रक्रिया सुरु
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त सहकारी संस्थाहरूमा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ ।
समितिका सदस्य सचिव रविन ढकाल ले आगामी जेठको पहिलो साताबाट बचत फिर्ता गर्ने कार्य सुरु गरिने जानकारी दिए। यसअघि नै मागदाबी गरेका बचतकर्ताहरूलाई प्राथमिकतामा राखी रकम वितरण गरिनेछ ।
सुकुम्बासी आन्दोलनमा
काठमाडौंका सुकुम्बासीका र अव्यवस्थित बसोबासीलाई हटाएपछि देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । काठमाडौंपछि देशका प्रमुख शहरका यस्तै बस्ती हटाउने तयारीपछि सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
सरकारले सम्बन्धित पालिकामार्फत अतिक्रमित र अव्यवस्थित बस्ती हटाउन खोजेपछि सोमबार एकैदिन बुटवल, पोखराजस्ता ठूला शहरमा विरोध प्रदर्शन भएका हुन् । दशर्कौदेखि बस्दै आएको बस्ती प्रभावकारी व्यवस्थापनबिना नै हटाउन खोजिएपछि शहरशहरमा प्रदर्शन भएको हो ।
रोल्पा जीप दुर्घटनाबाट थप २ को मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा थप दुईको मृत्यु भएको तर उनहरुको पहिचान खुल्न नसकेको बताएका छन् ।
सरकारद्वारा विश्व बैंकको ५७ मिलियन डलर ऋण स्वीकार
सरकारले विश्व बैंक बाट प्राप्त हुने ५७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूलाई कर्जा प्रवाह र वायु गुणस्तर सुधारका लागि ५२ मिलियन डलर ऋण र पाँच मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार बैठकले कृषि क्षेत्रका लागि पनि महत्वपूर्ण निर्णय गरेको छ । जीटूजी (सरकार–सरकार) प्रक्रियामार्फत भारतबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री केन्द्र लिमिटेडलाई स्वीकृति दिइएको छ ।
मोरङमा किशोरी बलात्कार आरोपमा युवक पक्राउ
मोरङ मा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार ग्रामथान गाउँपालिका–२ का १९ वर्षीय प्रिन्स खाँ थारुलाई आइतबार साँझ पक्राउ गरिएको हो । उनले बेलबारी नगरपालिका–५ की किशोरीलाई ग्रामथान–६ स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको आरोप छ । घटनापछि पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सातै प्रदेशमा पहिलोपटक कृषिगणना
कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले आन्तरिक जनशक्ति परिचालन गर्दै पहिलोपटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ । तीन तहका सरकारको सहभागितामा गरिएको गणनालाई मितव्ययी र प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ । गणकहरू किसानको घरदैलोमै पुगेर मोबाइल तथा ट्याब प्रयोग गरी तथ्याङ्क सङ्कलन गरेका छन् । रामकृष्ण रेग्मी का अनुसार संकलित तथ्याङ्कले कृषि क्षेत्रका नीति निर्माण र कार्यान्वयनमा सहयोग पु¥याउनेछ ।
पहिलो चरणमा कृषकको पहुँच, मल–बिउ, सिँचाइ, प्रविधि, वित्तीय सेवा र उत्पादन अवस्थासम्बन्धी विवरण सङ्कलन गरिएको छ भने दोस्रो चरणमा विश्लेषण गरी आधिकारिक नतिजा सार्वजनिक गरिनेछ ।
मोरङमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
मोरङमा सोमबार दुई छुट्टाछुट्टै घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
धनपालथान गाउँपालिका–४ कर्सियाका अन्दाजी ४० वर्षीय जीवन राम धनपालथान–६ दादरबेरियामा बिहान मृत अवस्थामा फेला परेका हुन् । लेखनाथ दाहालका अनुसार मुखबाट रगत बगेको अवस्थामा स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण खुल्न नसकेको र शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, सुनवर्षी नगरपालिका–९ मा करेन्ट लागेर ५० वर्षीया मंगलीदेवी मेहताको मृत्यु भएको छ। घरको कलमा जोडिएको मोटरबाट बिजुली लिक हुँदा उनलाई दिउँसो करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएकी मेहताको शव पनि पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको छ ।
दुवै घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो