२४ घण्टामा कहाँ के के भए ?

खगेन्द्र कार्की

एक साताको अवधिमा विभिन्न प्रकरणमा मुछिएका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहमन्त्री सुधन गुरुङकै अग्रसरमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । 
जेनजी आन्दोलनसम्बन्धी घटनामा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली  र  कांग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् । उनीहरू गत शनिबार पक्राउ परेका थिए ।
तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री रहेका क्रमशः ओली र लेखकलाई फौजदारी कानुनअनुसार अनुसन्धान गर्न आयोगले सिफारिस गरेको थियो । सोही प्रकरणमा काठमाडौँका तत्कालीन सीडीओ छवि रिजाल पनि पक्राउ परेका थिए । उनलाई हाजिर जमानीमा छाडिएको छ । 
यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा कांग्रेस नेता दीपक खड्का, शंकर ग्रुपका शंकर अग्रवाल, व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । यस्तै एमाले नेता कर्णबहादुर मल्ल र लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पनि पक्राउ परेकी छन् । 
गृहमन्त्री गुरुङले एक सातामा उनीहरूसहित १० जना पक्राउ परेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
००००
सर्वोच्च अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्न तथा गराउन अन्तरिम आदेश जारी गरेको छ ।
आयुष बडालसमेतले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारको नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो ।
००००
संयुक्त अरब इमिरेट्स ९युएई० को अबुधाबीस्थित अजवन क्षेत्रमा मिसाइलको अवशेष खस्दा सात जना नेपाली नागरिक घाइते भएका छन्।
 युएईको वायु रक्षा प्रणालीले शत्रु पक्षको मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसको टुक्रा जमिनमा खस्दा सो दुर्घटना भएको हो।
अबुधाबी मिडिया अफिसका अनुसार, घाइते हुने कुल १२ जनामध्ये सात जना नेपाली रहेका छन्। घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ६ जनाको चोट मध्यम तथा सामान्य रहेको बताइएको छ। घाइते हुनेमा ५ जना भारतीय नागरिक समेत रहेका छन्।
००००
सरकारले वृद्ध भत्ता पाउने उमेरको विषयमा बाहिर आएका विभिन्न टिकाटिप्पणी र हल्लाहरूमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ। 
अर्थ मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा भत्ता पाउने उमेरबारे मन्त्रालयमा कुनै पनि छलफल नभएको जनाएको हो।
००००
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशसँग स्वीकृत दरबन्दीको एकमुष्ट विवरण माग गरेको छ। 
मन्त्रालयको संगठन विकास शाखाले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै यस्तो विवरण उपलब्ध गराउन भनेको हो।
सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र भविष्यका लागि एकीकृत जनशक्ति प्रक्षेपण तयार पार्ने मुख्य उद्देश्यका साथ मन्त्रालयले यो कदम चालेको हो। 
००००
नेकपा एमालेले कार्यवाहक अध्यक्ष रामबहादुर थापाले संसदमा दिएको अभिव्यक्ति सच्याएको छ । शुक्रबार बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 
बादलले बिहीबार संसदमा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिप्रति पार्टीले गम्भीर समीक्षा गर्दै ती निकायहरूप्रति पार्टीको सम्मान र सद्भाव यथावत रहेको स्पष्ट पारेको भट्टको भनाइ छ ।  
००००
इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यरदृश्य सामग्री, तस्वीरलगायत सामाजिक सञ्जालमा पोस्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।
००००
दोस्रो ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा दाबी गर्ने भएको छ । सभामुख पदमा उम्मेदवारी नदिएको कांग्रेसले उपसभामुखमा भने आफ्नो दाबी रहने भन्दै तयारी समेत अगाडि बढाएको छ । उपसभामुख पद प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक स्पिरिट भएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले लोकान्तरलाई बताए ।
००००
प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल चयन हुने भएका छन् । उनी निर्विरोध सभामुख चयन हुने भएका हुन् ।
संघीय संसद् सचिवालयले २२ चैतमा हुने सभामुख पदको निर्वाचनका लागि आज मनोनयन कार्यक्रम तय गरेको थियो ।
११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताका लागि आह्वान गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति अर्यालको मात्र उम्मेदवारी परेको हो ।
००००
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । 
उनले गएराति केएमसी अस्पतालमा उपचाररत घाइतेलाई भेटेका हुन् । गुरुङले उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया