दुईदिने बिदाले दिएको अवसर र देखाएको चुनौती

खगेन्द्र कार्की

इन्धनको बढ्दो मूल्य र खर्च नियन्त्रण गर्ने उद्देश्यले सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्‍यो। यसको उद्देश्य इन्धनको खपत घटाउने र सरकारी खर्चमा बचत गर्ने थियो। तर व्यवहारमा हेर्दा यस निर्णयले केही सकारात्मक परिणाम दिए पनि केही महत्वपूर्ण चुनौतीहरू पनि उजागर गरेको छ।

पछिल्लो समय लगातार परेको सार्वजनिक बिदाको अवसरमा हजारौं आन्तरिक पर्यटक मुस्ताङ, म्याग्दी, मुक्तिनाथ, कागबेनी र कोरला नाकालगायतका गन्तव्यमा पुगे। यसले पर्यटन क्षेत्र चलायमान बनाएको छ। होटल, यातायात, रेस्टुरेन्ट तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढेको छ। आर्थिक सुस्तताबाट गुज्रिरहेको अवस्थामा आन्तरिक पर्यटनको यस्तो चहलपहल सकारात्मक पक्ष हो। नेपालीहरूले आफ्नै देशका गन्तव्य चिन्ने र स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने अवसर पनि यसले सिर्जना गरेको छ।
तर अर्कोतर्फ, इन्धन बचत गर्ने मूल उद्देश्य भने अपेक्षाअनुसार पूरा भएको देखिँदैन। कार्यालय बन्द भए पनि मानिसहरू घुमफिरमा निस्कँदा सवारी साधनको प्रयोग बढेको छ। यसले इन्धन खपत घट्नुको सट्टा कतिपय अवस्थामा बढेको देखिन्छ। त्यसैगरी आइतबार सरकारी कार्यालय बन्द हुँदा सेवा लिन आउने नागरिकले सोमबारसम्म पर्खिनुपर्ने बाध्यता भोगिरहेका छन्। जसका कारण सेवा प्रवाहमा चाप बढ्ने र सेवाग्राहीले सास्ती खेप्ने अवस्था बनेको छ।
विशेषगरी स्वास्थ्य क्षेत्रजस्ता अत्यावश्यक सेवामा दुईदिने बिदाको प्रभाव गम्भीर रूपमा समीक्षा गर्न आवश्यक छ। अस्पताल, स्वास्थ्य संस्था तथा आपत्कालीन सेवाहरूमा नियमित सेवा प्रवाह अवरुद्ध हुनुहुँदैन। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा दिने जनशक्तिलाई दुई सिफ्ट वा पालो प्रणालीमा परिचालन गरेर सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था गर्न सकिन्छ। बिरामीको उपचार र स्वास्थ्य सेवा कुनै पनि बिदाभन्दा महत्वपूर्ण विषय हो।
सरकारले खर्च कटौती र इन्धन बचतका उपाय खोज्नु सकारात्मक प्रयास हो। तर त्यसको प्रभावकारिता मूल्याङ्कन गर्दै सेवा प्रवाह, स्वास्थ्य, शिक्षा र नागरिकको दैनिकीमा पर्ने असरलाई पनि उत्तिकै गम्भीरतापूर्वक हेर्न आवश्यक छ। विशेष गरी अत्यावश्यक सेवा दिने निकायहरूमा बिदाको सट्टा व्यवस्थापन सुधारतर्फ ध्यान दिनु समयको आवश्यकता बनेको छ। यसले नागरिकलाई सहज सेवा दिनुका साथै सरकारको उद्देश्यलाई पनि प्रभावकारी बनाउन मद्दत गर्नेछ।

खगेन्द्र कार्की
प्रतिक्रिया