कांग्रेस महासमिति बैठक हात्ति आयो हात्ति आयो फुस्सा

खगेन्द्र कार्की

सबै भन्दा जेठो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पटक पटक बाटो बिराएर अहिले आम कार्यकर्ता र जनताको माझबाट विश्वास गुमाउँदै गईरहेको छ । यहि विश्वास आर्जनमा हालै सम्पन्न महासमिति बैठक फलदायी हुने र ति निराश भएका जनता तथा कार्यकर्तामा नयाँ उत्साहका साथ उर्जा थप्ने अस्त्र लिएर आउने अपेक्षालाई कांग्रेसको महासमिति बैठकले पूर्णविराम लगाईदिएको छ ।

सबैभन्दा जेठो पार्टी त्यसमाथि अहिलेसम्म भएका राजनीतिक उपलब्धीको संरक्षक तथा कार्यान्वयनकर्ताको प्रमुख भुमिका रहेको कांग्रेसले उहि गठबन्धनको निरन्तरताको मुद्दालाई संस्थागत गर्दै महासमितिको बैठकका एजेण्डा पारित गर्नुलाई आम कार्यकर्ता र जनताले दुःखद मानेका छन् । कांग्रेसले नयाँ बोतलमा पुरानै रक्सी हालेर अगामी निर्वाचिनमा होमिने नीति ल्याएको छ । १४ औं महाधिवेशनमा समयअभावले नीति तथा कार्यक्रम पारित गर्न नसकेको कांग्रेसले अर्को महाधिवेशन आउने बेलामा महासमितिको बैठक राखेर ल्याएका प्रस्तावहरु काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई समेत चरितार्थ गरेको छ । हिजोको कांग्रेसमय गाउँहरु रित्तिएका छन् । एकपछि अर्को गर्दै कांग्रेस छोड्नेको लहर चलेको छ तर कांग्रेस भने सत्ताकै वरिपरि घुमिरहने नीति ल्याएर अगाडि बढ्नु कांग्रेसका लागि फलदायी पक्कै नहोला । 

आफूलाई नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक दल भन्दै आएको कांग्रेसको यही बैठकले तय गरेका नीति र मार्गनिर्देशनका आधारमा पार्टी अघि बढ्ने निश्चित छ । त्यसो त पार्टीभित्र सनातन हिन्दूराष्ट्रको पक्षमा झण्डै २ दर्जन केन्द्रीय सदस्यसहित सैयौं महासमिति सदस्यहरुले हस्ताक्षर गरेर बुझाएका पनि हुन । महामन्त्री गगन कुमार थापाले गठबन्धनको अन्तय गरेर कांग्रेस एक्लै लड्ने सक्ने ल्याकत भएको पार्टी भनेर प्रमाणित गर्ने आधार पनि यहि महासमिति बैठकले तय गर्ने प्रस्ताव राखेका पनि हुन ।

यो बैठकले पार्टीको राजनीतिक, सामाजिक र आर्थिक मार्गलाई स्पष्ट गर्ने र त्यसै अनुरूप दल अघि बढ्ने रणनीतिका साथ प्रस्तावहरु अघि बढाएका थिए । ति प्रस्ताव उपर केन्द्रीय समितिले अन्तिम रुप दिने गरी सर्वसम्मतिले पारित पनि भयो । समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएका हुन्। 

जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन् । त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा। प्रकाशशरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन पनि महासमितिले ग्रहण गरेको छ । ललितपुरको गोदावरीमा भएको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरू पारित भएसँगै महासमिति बैठक सकिएको जानकारी गराए । महासमिति बैठक फागुन सात गतेबाट सुरु भएको थियो ।


०४६ सालदेखि यता लाभको पदमा रहेकाहरुको सम्पत्ति छानविन गर्नुपर्ने विषय पनि नउठेको होइन तर कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्षधरको पकड दर्बिलो भएको र अरुले जे जस्ता प्रस्ताव ल्याएर त्यसलाई विफल बनाएर आफू अनुकूलका प्रस्ताव पारित गर्न यो महासमिति बैठक पनि फलदायी बन्यो तर पनि कांग्रेसका पदको लाभ लिइरहेका मात्र होइन असन्तुष्ट पक्षहरुले पनि पार्टीको निर्णय भन्दै महासमिति बैठक आगामी दिनमा नेपालको भाग्य र भविष्य कोर्न फलदायी हुने गरी अगाडि बढेको प्रतिक्रिया दिन चुक्दैनन् ।

यो महासमितिको बैठक सम्पन्न भएपछि केन्द्रीय नेताहरु संस्थापन पक्ष र इतर पक्षहरु एकजुट भएको सन्देश दिएर अलिकति गहुँत छर्कने काम चाहि गरेका छन् । सबैजना सन्तुष्ट रहेको र अब कांग्रेसभित्रका असन्तुष्टिहरु सकिएको र अब पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउने प्रणसमेत गरेका छन् । कार्यकर्ता र जनताको मन उस्तै रहे पनि नेताहरु भने प्रफुल्ल रहेको प्रतिक्रिया दिन चुक्दैनन ।

पार्टी सभापति तथा शेर बहादुर देउवा 

कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पेस भएका प्रस्तावहरू सदस्यको सुझावका आधारमा परिमार्जनसहित केन्द्रीय समितिबाट पारित हुने बताए । ‘कांग्रेसले आठ  दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा देशको राजनीतिमा भूमिका खेलिरहेको छ । कांग्रेसलाई वैचारिक रूपमा अनुशासित ऊर्जावान् बनाउन महासमिति बैठक ऐतिहासिक महत्वको बनेको छ,’ उनले भने, ‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्ताव पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्नेछ,’ उनले भने । उनले वर्तमान गठबन्धन सरकारको प्रमुख घटकका रूपमा सुशासनलाई निरन्तर दिन सुझाव आएको बताए । 

उपसभापति पूर्ण बहादुर खड्का

उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठक कांग्रेस र मुलुकका लागि महत्व राख्ने बताए । ‘हामी सरकारमा छौँ, प्रभावकारी महासमितिको सुझावअनुसार सुधार गर्न र सच्याउन जरुरी छ । हामी नौजनाले सरकारमा गएर आजसम्म साथीहरूको शिर झुकाउने गरी गलत काम गरेका छैनौँ,’ उनले भने, ‘बरु भ्रष्टाचार निवारण जनसेवामा प्रयास गरेका छौँ, कमजोरी सच्याउने प्रयास गरेका छौँ ।’ 

उपसभापति धनराज गुरुङ

उपसभापति धनराज गुरुङले महासमिति बैठकसँगै कांग्रेसले नीतिगत स्पष्टता दिएकाले एजेन्डा र विचारमा परिष्कृत भएर अघि बढ्न आवश्यक रहेको बताए । उनले लाभका पदमा रहेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत राखे । ‘एक–अर्कालाई गाली गरेर घर अग्लो बनाउन सकिँदैन । अरूको घर भत्किएला र मेरो घर अग्लो देखिएला भनेर बस्नुहुँदैन । राजनीतिको घर अग्लो बनाउन सिद्धान्त एजेन्डा र विचार परिष्कृत हुनुपर्छ,’ उनले भने, ‘लाभका पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ, तब यत्तिकै अग्लो घर बन्छ । गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा गरेर हुन्छ रु

महामन्त्री गगनकुमार थापा

महामन्त्री गगन थापाले कांग्रेसले महासमितिबाट सरकारमा रहेको समय सदुपयोग गरेर आगामी निर्वाचनका लागि आधार तयार गर्नुपर्ने म्यान्डेट आएको बताए । उनले ०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन होस् भनेर संसद्‌मा कांग्रेसले प्रस्ताव पेस गर्नुपर्ने र काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने धारणा राखे । ‘हामी ०८४ मा सरकारमा जान्छौँ होइन । अहिले नै सरकारमा छौँ । अहिले गरेका काम देखाएर झन् बढी मत ल्यायौँ, फेरि सरकारमा जाऔँ । कांग्रेस एक्लै लड्न सक्छ भन्ने हुति राखेर जानुपर्छ,’ उनले भने, ‘काम गर्न नसकेका मन्त्रीलाई विश्राम दिऔँ । फिर्ता बोलाऔँ ।’ 

महामन्त्री विश्वप्रकाश शर्मा

महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुईपटकभन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताए । महासमिति बैठकले यी विषय पारित गरिसकेको उनको भनाइ थियो । ‘महासमितिमा धेरै विषयमा छलफल भयो । देशको स्थिति र परिस्थितिको विषयमा छलफल भयो, मन माझामाझ भयो । अहिले एकढिक्का भएका छौँ । महासमिति बैठकले सुशासन र समुन्नतिको बाटोमा एकढिक्का भएर छलफल गरेको थियो । यससँगै हामीले अबको १५ वर्षको बाटो कोरेका छौँ,’ उनको भनाइ थियो ।

डा। शेखर कोइराला

नेता डा। शेखर कोइरालाले कांग्रेस रूपान्तरणमा अविचलित यात्रा जारी रहेको बताए । ‘महासमिति बैठकले नवीन कांगे्रस बनाउने संकल्प थप बलियो बनाएको छ । आमजनतामा यो देशमा केही हुँदैन भन्ने न्यारेटिभ छ । यसलाई चिर्न पार्टी संगठन व्यापक रूपमा परिचालन हुनुपर्छ । त्यसका लागि लागौँ,’ उनले भने । 

पूर्व महामन्त्री कृष्ण सिटौला

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै भएको बताए । ‘हामी उत्साह लिएर फर्कँदै छौँ । हामीबीच एकता भएको छ । अलिअलि भएको मतभेद पनि हटेको छ । यो बैठकले धेरै विषयमा मन्थन गरेको छ । कांग्रेसले धेरै चुनौतीको सामना गरेको छ । सबै चुनौती पन्छाएर लोकतान्त्रिक समाज बनाउने बुद्धि, तागत सबै कांग्रेससँग ‍छ,’ उनले भने, ‘देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै छ । संविधानलाई बचाउने र संविधानको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्न हामी सक्षम छौँ ।’


खगेन्द्र कार्की
प्रतिक्रिया