साहाना राई र स्मीका सुनुवार ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ विजेता

सुप्रिया राई


इटहरी । धरानस्थित गरिमा डान्स सेन्टरको आयोजनामा सम्पन्न ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ (सीजन ५) को ग्रान्ड फिनालेमा साहाना राई र स्मीका सुनुवार विजेता बनेका छन्।

शनिबार धरान–१५ स्थित सदन सभा भवनमा सम्पन्न फिनालेमा जुनियर ग्रुप तर्फ धरान मन्टेश्वरी एकेडेमीकी छात्रा साहाना राई र सिनियर ग्रुप तर्फ डिपी बिलिभर्स स्कुलकी छात्रा स्मीका सुनुवारले उपाधि जितेका हुन्।

विजेताहरुले पाएका सम्मान: साहाना र स्मीकाले जनही नगद रु ५०,०००, क्राउन, ट्रफी, प्रमाणपत्र तथा गरिमा डान्स सेन्टरमा एक वर्ष निःशुल्क नृत्य तालिम प्राप्त गरेका छन्। साथै, साहानाले "बेष्ट फोटो जेनिक" र स्मीकाले "मोष्ट एक्टिभ" अवार्ड पनि जिते।

अवार्ड विजेताहरुलाई ट्रफीका साथै गरिमा डान्स सेन्टरमा एक महिनाको निःशुल्क तालिम प्रदान गरिएको छ।

प्रतियोगिताको उद्देश्य र प्रशिक्षण: कार्यक्रम तालिम निर्देशक सन्जु राई (सुमित्रा) का अनुसार बालबालिकाको अन्तरनिहित प्रतिभा पहिचान गर्दै जीवन उपयोगी सीप विकास गर्नु कार्यक्रमको मूल उद्देश्य हो। प्रतियोगीहरूलाई नृत्य, मोडलिङ, पब्लिक स्पीकिङ, सामाजिक उत्तरदायित्व, आत्मरक्षा लगायतका विषयमा विशेष तालिम दिइएको थियो।

तालिम दिने प्रशिक्षकहरूमा रोजनी लिम्बु, बिनिता राई, कराँते प्रशिक्षक सुमना राई लगायतको सहभागिता थियो। स्वास्थ्य, सरसफाइ, राम्रो–नराम्रो छुवाइ जस्ता विषयमा रोट्राक क्लब अफ धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तालिम प्रदान गरेको थियो।

निर्णायक मण्डलमा: प्रमुख निर्णायकका रुपमा मिस कोशी १९९८ कृति श्रेष्ठ रहिन् भने निर्णायकहरुमा डिजे ललित राई, रोनिक अग्रवाल, लक्ष्मी लिम्बु, र पत्रकार भीषण राई थिए।

कक्षा ५ सम्मका विद्यार्थीहरु ‘जुनियर ग्रुप’ र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु ‘सिनियर ग्रुप’ मा प्रतिस्पर्धी बनेका थिए। कुल २३ जनाको सहभागिता रहेको थियो।

सन् २०१९ बाट सुरु गरिएको ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट’ कार्यक्रमले बालबालिकालाई आत्मविश्वासी, रचनात्मक र अनुशासित बनाउन उल्लेखनीय भूमिका खेल्दै आएको छ।



सुप्रिया राई
प्रतिक्रिया