युएईमा कलाकारसँग झुमे नेपाली

फाष्ट मिडिया नेपाल संवाददाता

एमडी बोहोरा

युएई । अभिनेता पल शाह र प्रताप दाससहित आधा दर्जन कलाकारसँग दुबईमा रहेका नेपालीहरुलाई नचाएका छन् । नजिकिँदै गरेको तीजको अबसर पारेर सेलिब्रेटी नेपाल प्रतिष्ठानले शनिबार दुवईमा साँगीतिक कार्यक्रम आयोजना गरेको छ । युएईको बर दुबई स्थित क्लव एसके सेभेनमा यी कलाकारहरुले त्यहाँ रहेका नेपालीहरु नचाएका हुन् ।

कार्यक्रममा अभिनेता पल शाहले स्टेजमा आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरेका थिए । उनको गीतमा दर्शक रमेका हुन् । दर्शकको माग अनुसार पलले तीन वटा गीतमा नृत्य गर्दै आफुसँगै दर्शकलाई नचाए । सोही क्रममा गायिका रेखा शाहले आफ्नो चर्चित गीत सिमसिमे पानी गाएर दर्शकलाई नचाईन् । उनले कार्यक्रममा तीन वटा गीत प्रस्तुत गरिन् ।

सो कार्यक्रममा गायक प्रताप दाशले पनि आफ्ना चर्चित गीत प्रस्तुत गरे । प्रतापले कार्यक्रममा ११ वटा गीत प्रस्तुत गरेका थिए । उनको गीतमा दर्शकहरु त्यत्तिकै नाचेको आयोजक रघुनाथ सापकोटाले जानकारी गराए । सो साँगीतिक कार्यक्रममा लोक गायक सुवास खत्री, गायक सुरज मानन्धर, कलाकार रितेष पौडेलले पनि गायन एवम् नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा यी कलाकारसहित मोडल दीपक घिमिरे, अर्जुन जिसी, चलचित्र निर्देशक कमल एक्चै मगर, नितिन चन्द, कलाकार चन्द्र लामा र लीला केसीलगायतलाई ओेएसआर डिजिटलका ओम अग्रवाललाई सिएनए इन्टरनेशनल अनर अवार्डमा सम्मानित पनि गरियो । आयोजक टिमका सदस्य प्रविन किरातीले दुबइको कार्यक्रम सफलता संगै अन्य देशमा पनि कार्यक्रम नियमित गर्ने बताए ।

कार्यक्रमले नेपाल–दुबईलाई जोड्नुको साथै नेपाली कला, साहित्य, चलचित्र र पर्यटन क्षेत्रको प्रवर्द्वन गर्ने आयोजक संस्था सेलेब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । साँझ ७ बजेबाट शुरु भएको कार्यक्रम राती १ः३० बजे सम्म चलेको पनि उनले बताए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया