इटहरी । यतिखेर नयाँ शैक्षिक सत्र प्रारम्भ भई भर्ना अभियान चलिरहेको छ । वैशाख १५ देखि सुरु भएको भर्ना अभियानमा नसकिँदै विद्यार्थीको अभावमा विद्यालय बन्द हुने क्रम चल्नु पक्कै पनि सामुदायिक विद्यालयप्रतिको विद्यार्थीको भरोसा कम हुनु नै हो । सरकार पहिलो प्राथमिकतामा राखेर विभिन्न नीति समेत ल्याएको अवस्थामा यसरी विद्यार्थी नभएर बन्द हुनु दुर्भाग्य पनि हो । मोरङको कानेपोखरी गाउँपालिकाले दूई वटा सामुदायिक विद्यालय बन्द गरेको मात्र छैन तीन वटा विद्यालयमा कक्षा घटुवा समेत गरेका समाचार भाइरल भईरहेका छन् । विद्यार्थी नभए पछि ति विद्यालय बन्द र घटुवा गरिएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं. ४ को थानेश्वर आधारभूत विद्यालय र वडा नं. १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरिएको हो । साथै वडा नं. ३ को लक्ष्मी आधारभूत विद्यालय, वडा नं. ४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा नं. ६ को सुन्तोली आधारभूत विद्यालयबाट कक्षा ४ र ५ हटाइएको छ ।
थानेश्वर आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा ६ जना विद्यार्थी रहेका थिए । एक शिक्षक दरबन्दी र एक बालविकास शिक्षक रहेको उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सोही वडाको जनता आधारभूत विद्यालयमा समायोजन गरिएको छ । थानेश्वर विद्यालयमा कक्षा ५ सम्म स्वीकृति भए पनि हाल कक्षा ३ सम्म मात्र पढाइ भइरहेको थियो ।
त्यसैगरी वडा नं. १ को सिद्धार्थ आधारभूत विद्यालयमा जम्मा नौ जना विद्यार्थी रहेका थिए । उक्त विद्यालयलाई सोही वडाको श्री माध्यमिक विद्यालय, होक्लाबारीमा समायोजन गरिएको छ । बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयका तीन शिक्षक र दुई बालविकास कर्मचारीलाई पनि श्री माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
वडा नं. ३ को लक्ष्मी आधारभूत विद्यालय र वडा नं. ४ को पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ४ र ५ हटाइएको छ । लक्ष्मी विद्यालयका दुई कक्षामा जम्मा ६ जना विद्यार्थी थिए भने पञ्चकन्या विद्यालयका दुई कक्षामा नौ जना विद्यार्थी थिए । लक्ष्मी विद्यालयका तीन शिक्षक र दुई बालविकास कर्मचारीमध्ये एक शिक्षक दरबन्दीसहित ६ जना विद्यार्थीलाई सोही वडाको बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । पञ्चकन्या विद्यालयका एक शिक्षक दरबन्दीसहित नौ जना विद्यार्थीलाई पनि बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । समितिले शैक्षिक सत्र २०८३ देखि प्रत्येक कक्षामा कम्तीमा १० जना विद्यार्थी अनिवार्य हुनुपर्ने व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यसअघि पनि विद्यार्थी अभावकै कारण करिब १० वर्षअघि वडा नं. ४ को पिङडाँडास्थित तत्कालीन प्रगतिशील प्राथमिक विद्यालय र वडा नं. ७ को पच्चिस बिघास्थित शान्तिदेवी प्राथमिक विद्यालय बन्द गरिएको थियो ।
त्यस्तै वडा नं. ६ को दहिधापस्थित सुन्तोली आधारभूत विद्यालयबाट पनि कक्षा ४ र ५ हटाइएको छ । त्यहाँ कक्षा ४ मा तीन जना र कक्षा ५ मा दुई जना विद्यार्थी थिए । उक्त विद्यालयका एक शिक्षक दरबन्दी र पाँच जना विद्यार्थीलाई सोही वडाको पञ्चज्योति आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो