स्वास्थ्यमा दमकको ऐतिहासिक छलाङ : स्वास्थ्य चौकीदेखि सय शैयाको आधुनिक अस्पतालसम्म

खगेन्द्र कार्की


दमक नगरपालिका अहिले केवल विकास निर्माणमा मात्रै होइन, नागरिकको स्वास्थ्य सुरक्षाप्रति पनि उत्तिकै सम्वेदनशील र जिम्मेवार बनेर अघि बढिरहेको छ । “स्वस्थ नागरिक, समृद्ध दमक” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर एकपछि अर्को प्रभावकारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

घरघरमै पुगेर ९० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्ने अभियानदेखि अपांगता भएका “क” वर्गका नागरिकलाई विशेष स्वास्थ्य सेवा, सर्ने तथा नसर्ने रोगको पहिचान र निदानका लागि सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविर, आधुनिक उपचार सेवा विस्तार तथा दमक अस्पतालको स्तरोन्नतिसम्मका कार्यले दमक नगरपालिका स्वास्थ्य क्षेत्रमा नमुना बन्दै गएको छ । यसले के पनि देखाउँछ भने रोगलागेर उपचारमा कठिनाई भोग्नु भन्दा रोग लाग्नै नदिने तर्फ दमक नगरपालिका अगाडि बढेको प्रमाणित गरेको छ । 

कुनै समय सामान्य स्वास्थ्य चौकीका रूपमा स्थापित दमक अस्पताल आज नगरबासीको भरोसाको केन्द्र बनेको छ । २०७३ सालदेखि १५ शैयाको नगर अस्पतालका रूपमा सेवा सुरु गरेको अस्पताल अहिले सुविधा र सेवाको दायरालाई तीव्र रूपमा विस्तार गर्दै सय शैयाको अत्याधुनिक अस्पताल बन्ने दिशामा अगाडि बढिरहेको छ ।

यसैक्रममा अस्पतालमा बढ्दो बिरामी चाप र सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै बुधबारदेखि ६ शैयाको सुविधा सम्पन्न क्याबिन सेवा सञ्चालनमा ल्याइएको छ । दमक नगरप्रमुख रामकुमार थापाले रिबन काटेर उक्त क्याबिन सेवाको उद्घाटन गरेका हुन् ।

नयाँ क्याबिन सेवाअन्तर्गत २ वटा सिङ्गल बेड र २ वटा डबल बेडसहित कुल ६ शैया सञ्चालनमा आएका छन् । बिरामीलाई थप सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न प्रत्येक क्याबिनमा चिकित्सक र नर्ससहित स्वास्थ्यकर्मीको नियमित उपस्थिति रहने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण शाहले जानकारी दिए ।

नगरप्रमुख रामकुमार थापाले दमक अस्पताललाई आधुनिक र सुविधासम्पन्न बनाउने अभियान निरन्तर अघि बढिरहेको बताउँदै स्थानीय सरकार प्रदेश र संघीय सरकारसँग समन्वय गरेर नयाँ कार्यक्रम, विशेषज्ञ सेवा र अत्याधुनिक उपकरण भित्र्याउन सक्रिय रहेको उल्लेख गरे । उहाँका अनुसार अहिले सञ्चालनमा ल्याइएका क्याबिनहरू आवश्यकता अनुसार थप विस्तार गरिँदै जानेछन् ।

त्यसैगरी, दमक अस्पताललाई सय शैयाको सुविधा सम्पन्न अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया समेत औपचारिक रूपमा सुरु भइसकेको छ । अस्पताललाई आवश्यक पूर्वाधार, सेवा, उपकरण र जनशक्ति व्यवस्थापनका विषयमा विस्तृत छलफल र योजना निर्माण कार्य अगाडि बढाइएको छ । सोही उद्देश्यका लागि अस्पतालको माथिल्लो तला थप्न करिब ५ करोड रुपैयाँ लागतमा निर्माण प्रक्रिया अघि बढिसकेको छ । ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता समेत भइसकेको नगरप्रमुख थापाले जानकारी दिए ।

दमक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई केवल सेवा होइन, नागरिकको आधारभूत अधिकारका रूपमा आत्मसात गरेको देखिन्छ । त्यसैले आज दमकमा स्वास्थ्य सेवा केवल अस्पतालभित्र सीमित छैन, यो घरघरमा पुगेको छ, ज्येष्ठ नागरिकको अनुहारमा भरोसा बनेको छ, अपांगता भएका नागरिकको सहारा बनेको छ र सम्पूर्ण दमकबासीको जीवनस्तर उकास्ने अभियानका रूपमा स्थापित हुँदै गएको छ ।

स्वास्थ्य चौकीबाट सुरु भएको यात्रा अब सुविधा सम्पन्न सय शैयाको आधुनिक अस्पतालतर्फ उन्मुख हुनु दमक नगरपालिकाको दूरदृष्टि, प्रतिबद्धता र नागरिकप्रतिको उत्तरदायित्वको ज्वलन्त उदाहरण बनेको छ ।



खगेन्द्र कार्की
प्रतिक्रिया