रवि लामिछानेको सम्बोधनसहित तीन अध्यादेश आज संसदमा पेश हुने

दयाराम कटेल

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

संसदका बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । संघीय संसदअन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा)को बैठक भने संघीय संसद सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का २५, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

आजको बैठकमा तीन अध्यादेश पेस हुँदै छन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली ९पहिलो संशोधन० अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ९दोस्रो संशोधन० अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्यरसभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए । उनका अनुसार आज रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ  र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने तय भएको छ । कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम भने टुंगो लागिसकेको छैन । 


दयाराम कटेल
प्रतिक्रिया