सम्पत्ति शुद्धिकरण अनुसन्धानबाट देउवा दम्पत्तिले अकुत सम्पत्ति आर्जन गरेको आशंका ः पक्राउ पुर्जी जारी

खगेन्द्र कार्की

इटहरी । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको विषय सार्वजनिक भएपछि राजनीतिक तथा कानुनी वृत्तमा व्यापक चर्चा सुरु भएको छ । उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइसकेको भए पनि दुवै जना हाल विदेशमा रहेकाले उक्त आदेश कार्यान्वयनका लागि इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारीको तयारी सरकारले थालेको छ । उनीहरू केही समयअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका र त्यसपछि हङकङ पुगेको जानकारी सार्वजनिक भएको छ ।

यस घटनासँगै देउवा परिवारको सम्पत्ति र आर्थिक कारोबार पुनः अनुसन्धानको दायरामा आएको छ । विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संयुक्त रूपमा गरेको प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित केही चलअचल सम्पत्तिमा अस्वाभाविक वृद्धि तथा स्रोत नखुलेका कारोबार देखिएको जनाइएको छ। विशेषगरी उनका छोरा जयवीर देउवाको नाममा पछिल्लो एक–दुई वर्षमा खरिद गरिएको करिब ७३ रोपनी जग्गा शंकास्पद देखिएको र सोही आधारमा थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।

राजनीतिक जीवनमा लामो समय प्रभावशाली रहेका देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् भने आरजु राणा देउवा पनि सक्रिय राजनीतिमा स्थापित व्यक्तित्व हुन् । उनीहरूमाथि विगतदेखि नै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको र यससम्बन्धी उजुरी विभिन्न निकायमा दर्ता हुँदै आएका थिए। यद्यपि हालसम्म उनीहरूमाथि कुनै औपचारिक फौजदारी मुद्दा दायर भएको छैन ।

यसअघि जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा भएको आक्रमण र आगजनीपछि भेटिएका केही सामग्रीले पनि अनुसन्धानलाई थप बल दिएको स्रोतले जनाएको छ। हाल अनुसन्धान घरजग्गा, बैंक खाता र अन्य आर्थिक कारोबारसम्म विस्तार गरिएको छ । साथै, अख्तियारमा दर्ता भएका टेलिकम, सुरक्षण मुद्रण केन्द्र र भुक्तानी प्रवेशद्वार परियोजनासम्बन्धी उजुरीहरू पनि पुनः चर्चामा आएका छन् ।

देउवा दम्पतीको सचिवालयले भने पक्राउ पुर्जीबारे आफूहरूलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ । संवेदनशील मानिएको यस प्रकरणले देशको राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा नयाँ बहस उत्पन्न गरेको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया