वर्षाका कारण जापानसँगको खेल रद्द, नेपाल समूह विजेता

खगेन्द्र कार्की

एजेन्सी । २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा जापानविरुद्धको खेल वर्षाका कारण नतिजाविहीन बने पनि नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपालले २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेको हो।

नेपालले क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’को उपविजेता अफगानिस्तानले भारतसँग क्वाटरफाइनल खेल्नेछ।
वर्षाका कारण करिब एक घण्टा ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो।
नेपालका लागि जोरा ३२ बलमा ५७ रन तथा लोकेश २२ बलमा ५२ रन बनाएर अविजित रहे। आसिफ शेखले २१ रनको योगदान दिए।
जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए।
नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि मैदान कभरले ढाकिएको थियो। लगातारको वर्षाका कारण जापानले ब्याटिङ गर्ने दोस्रो इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन भएको हो।
समूहमा नेपालले २ खेलबाट ३ अंक जोड्दा अफगानिस्तानले २ खेलबाट २ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया