दमक : राजनीतिक विरासतदेखि पर्यटकीय गन्तव्यसम्मको यात्रा–बहुउद्देश्यीय पार्कको डिपिआर बन्दै

खगेन्द्र कार्की

दमक पूर्वी नेपालको तीव्र रूपमा विस्तार भइरहेको उदीयमान सहर हो। विकास र पूर्वाधारका दृष्टिले जति चर्चित छ, राजनीतिक दृष्टिले पनि यसको आफ्नै विशिष्ट परिचय छ। झापाको क्षेत्र नं. ५ अन्तर्गत पर्ने दमकले लामो समयदेखि राष्ट्रिय राजनीतिका महत्वपूर्ण पात्रहरूलाई राजनीतिक अभ्यास, संघर्ष र जनपरीक्षाको अवसर दिँदै आएको छ। यही भूमिले केहीलाई उचाइ दिएको छ भने केहीका राजनीतिक दाबी र क्षमताको परीक्षण पनि गरेको छ। त्यसैले दमक केवल एउटा नगरपालिका होइन, राजनीतिक इतिहास र जनमतको दृष्टिले पनि अर्थपूर्ण भूगोल हो ।
तर यति समृद्ध राजनीतिक इतिहास र तीव्र शहरी विकास बोकेको दमकमा बाहिरबाट आउने मानिसलाई दुई–चार दिन अड्याउने पर्यटकीय गन्तव्यको अभाव हुनु आफैंमा विचारणीय विषय हो। मानिसहरू दमक आउँछन्, काम गर्छन्, किनमेल गर्छन् र गन्तव्यतर्फ लाग्छन्; तर दमकमै बसेर घुम्ने, स्थानीय संस्कृति बुझ्ने, प्रकृतिसँग रमाउने र स्थानीय उत्पादनको स्वाद लिने पर्याप्त कारण अझै निर्माण हुन सकेको छैन। यही खालीपन पूर्ति गर्ने उद्देश्यले दमक नगरपालिकाले बहुउद्देश्यीय पार्क निर्माणको प्रक्रिया अघि बढाउनु महत्वपूर्ण पहलका रूपमा लिन सकिन्छ।
नगरप्रमुख रामकुमार थापाका अनुसार दमक–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा करिब ५० बिघा क्षेत्रफलमा यस्तो पार्क विकास गर्ने अवधारणा अघि सारिएको छ। आर्थिक वर्ष २०८२/८३ मा पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न परामर्श सेवा आह्वानसमेत गरिएको सार्वजनिक खरिद अभिलेखबाट देखिन्छ। राष्ट्रिय वन क्षेत्र प्रयोगसँग जोडिएको परियोजना भएकाले सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन, क्षेत्रफल निर्धारण, रूख–विरुवाको विवरण र अन्य कानुनी प्रक्रिया पूरा गर्नु अनिवार्य हुनेछ ।
सबैभन्दा महत्वपूर्ण कुरा, यो पार्कलाई केवल पिकनिक र मनोरञ्जनको थलोमा सीमित नगरी प्रकृति, संस्कृति, पर्यटन, शिक्षा र साहसिक गतिविधिको साझा गन्तव्य बनाउने सोच हो। प्रस्तावित अवधारणामा भीसी पार्क, पिकनिक स्थल, वन उद्यान तथा वनस्पति क्षेत्र, पोखरी तथा जल संरक्षण क्षेत्र, जैविक विविधता संरक्षण क्षेत्र, तालिम तथा सेमिनार केन्द्र, भुटानी संस्कृति तथा जीवित सम्पदा क्षेत्र, स्थानीय सांस्कृतिक क्षेत्र, मोनोरेल तथा साहसिक गतिविधि, प्रदर्शनी तथा संग्रहालय, बाल उद्यान, खुला व्यायामशाला, पार्किङ र सार्वजनिक शौचालयलगायत संरचना समेटिएका छन् ।

दमकमा एउटा ठूलो पार्क बनाउँदैमा के दमक पर्यटकीय सहर बन्छ ? भन्ने प्रश्नलाई यो अभियानले सार्थक बनाउने दिशातर्फ उन्मुख रहनुपर्दछ । पार्क एउटा आकर्षण हुन सक्छ, तर पर्यटकीय गन्तव्य बन्न त्यसलाई वरपरका अन्य सम्भावनासँग जोड्नुपर्छ। त्यसैले बहुउद्देश्यीय पार्कसँगै ‘दमक पर्यटन सर्किट’ को अवधारणा अघि बढाउनु आवश्यक देखिन्छ ।

हम्सेदुम्से वन क्षेत्र, धार्मिक तथा सांस्कृतिक स्थल, पुराना बस्ती, जलाधार, हरित क्षेत्र र स्थानीय सम्पदालाई जोडेर एकदिने तथा दुईदिने पर्यटन प्याकेज बनाउन सकिन्छ। त्यसलाई इलाम, कन्याम, चुलाचुली, सतासीधाम र झापाका अन्य गन्तव्यसँग जोडेर क्षेत्रीय पर्यटन मार्गका रूपमा विकास गर्न सकिन्छ। यसो गर्न सके दमक ‘बाटोमा पर्ने सहर’ होइन, ‘बस्नुपर्ने गन्तव्य’ बन्न सक्छ।
पर्यटनको अर्को महत्वपूर्ण आधार स्थानीय अर्थतन्त्र हो। दमकको खाना, स्थानीय उत्पादन, हस्तकला, कृषि उपज र विभिन्न समुदायका संस्कृति पर्यटनसँग जोड्न सकिन्छ। स्थानीय समुदायले सञ्चालन गर्ने होमस्टे, परम्परागत खानाका परिकार, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादनको बिक्री केन्द्र तथा नियमित ‘लोकल फुड एन्ड कल्चर मार्केट’ सञ्चालन गर्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ। पर्यटनको वास्तविक सफलता पर्यटकको संख्या मात्र होइन, त्यसबाट स्थानीय नागरिकको आम्दानी कति बढ्यो भन्ने कुराले निर्धारण गर्छ।
केही वर्षअघि दमकमा पुस्तक बिक्री गर्दै आएका महावीर पुनले समेत यहाँ आउने मानिसलाई अड्याउने पर्यटकीय आधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। त्यो प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ। पर्यटक ल्याउन संरचना बनाएर मात्र पुग्दैन; सूचना, यातायात, सुरक्षा, सरसफाइ, सार्वजनिक शौचालय, पार्किङ, पैदल तथा साइकलमार्ग र आतिथ्य सेवाको गुणस्तर पनि सुधार्नुपर्छ। राजमार्ग क्षेत्रमा पर्यटक सूचना तथा स्वागत केन्द्र र डिजिटल पर्यटन नक्सा राख्न सकिन्छ। पार्कभित्रै सूचना केन्द्र र स्थानीय उत्पादन बिक्री केन्द्र राखेर पर्यटकलाई दमकका अन्य गन्तव्यतर्फ पठाउने व्यवस्था गर्न सकिन्छ।
त्यसभन्दा पनि महत्वपूर्ण पक्ष वातावरण हो। हम्सेदुम्से जस्तो वन क्षेत्रमा ठूलो परियोजना बनाउँदा विकास र संरक्षणबीच सन्तुलन कायम गर्नुपर्छ। अत्यधिक कंक्रिट संरचना थोपर्नेभन्दा प्राकृतिक भू–दृश्य, वनस्पति र जैविक विविधता जोगाउँदै न्यूनतम वातावरणीय हस्तक्षेप हुने डिजाइन आवश्यक छ। सामुदायिक वन, स्थानीय बासिन्दा, निजी क्षेत्र र तीनै तहका सरकारबीच स्पष्ट सहकार्य र सञ्चालन मोडेल नबनाए ठूलो पूर्वाधार बने पनि दीर्घकालीन उपयोगिता कमजोर हुन सक्छ।
दमक नगरपालिकाले आफ्नो पहिचानलाई ‘औद्योगिक, पर्यटकीय र हरित नगर’ का रूपमा अघि सारिरहेको सन्दर्भमा बहुउद्देश्यीय पार्क त्यस पहिचानलाई व्यवहारमा उतार्ने एउटा महत्वपूर्ण अवसर बन्न सक्छ। तर यसको सफलता पार्कको भौतिक निर्माण सम्पन्न भयो कि भएन भन्ने आधारमा मात्र मापन गर्नु हुँदैन। त्यसले कति पर्यटक ल्यायो, उनीहरूलाई कति समय दमकमा अड्यायो, स्थानीय व्यवसायमा कति कारोबार बढायो, कति रोजगारी सिर्जना गर्‍यो र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा कति योगदान गर्‍यो—यी नै सफलताका वास्तविक सूचक हुनुपर्छ।

खगेन्द्र कार्की
प्रतिक्रिया