दमक । पछिल्लो एक महिनामा नेपालमा भएका दुई ठूला प्राकृतिक विपद्मा परी १ हजार ४ सय २७ जनाको मृत्यु भएको छ भने ४ हजार ९३ जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० गते भोटेकोशीमा आएको बाढी र त्यसपछि असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति गरेको हो।
भोटेकोशी बाढीमा मात्रै १ हजार ३ सय ९९ जनाको मृत्यु पुष्टि भएको छ भने ४ हजार ८९ जना सम्पर्कविहीन छन्। पछिल्लो वर्षाजन्य विपद्मा २७ जनाको मृत्यु, चार जना बेपत्ता र सात जना घाइते भएका छन्।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएको थियो। वर्षासँगै आएको बाढी र पहिरोबाट १ हजार ६५ परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार पछिल्लो घटनामा देशभर ५१३ वटा विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार जोखिममा रहेका जिल्लाबाट करिब २ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। मौसम पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन रोक्नुका साथै ७७ वटै जिल्ला सुरक्षा समितिमार्फत पूर्वतयारी तथा प्रतिकार्य गरिएको थियो।
चार दिनसम्म परेको लगातार वर्षा आइतबार साँझबाट रोकिएसँगै पछिल्लो विपद्को तत्कालीन जोखिम केही घटेको छ। तर, भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट बेपत्ताको खोजी तथा पहिचानको काम अझै जारी छ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तह प्रभावित भएका थिए। ल्हेन्दे खोलाको बहाव अचानक बढेपछि रसुवाको भोटेकोशी र त्रिशूली नदीमा अप्रत्याशित बाढी आएको थियो। भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारबाट भेटिएका १०३ शव पहिचान भएका छन् भने पहिचान हुन नसकेका १ हजार २ सय ३० शव गाडेर व्यवस्थापन गरिएको छ।
बाढीमा मृत फेला परेकामध्ये ५४४ पुरुष र ३३६ महिला रहेको विवरण छ। त्यस्तै, ५१९ जनाको आंशिक अंग मात्र फेला परेको र २५ जना प्रहरीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ। ६१० जना विदेशी नागरिक पनि हराइरहेको विवरणमा उल्लेख छ।
मृतक तथा बेपत्ताको पहिचानका लागि १ हजार २ सय ८६ शवका नमुना संकलन गरिएको छ। बेपत्ताका आफन्तबाट थप १ हजार ८८९ नमुना संकलन गरिएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन्। शव र आफन्तबाट संकलित कुल ३ हजार १७५ नमुनाको डीएनए परीक्षण भइरहेको छ।
डीएनए परीक्षण खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र सामाखुसीस्थित प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भइरहेको छ।