किशनगञ्ज — तस्करसँग साँठगाँठ गरेको आरोपमा भारतको किशनगञ्ज जिल्लामा सुरक्षाकर्मीमाथि कारबाही तीव्र पारिएको छ। गलगलिया थानाका प्रमुख निलम्बित भएको एक सातामै पाठामारी थानाका प्रमुखसहित तीन प्रहरी निलम्बनमा परेका छन्।
किशनगञ्जका प्रहरी अधीक्षक सन्तोष कुमारले पाठामारी प्रहरी चौकीका प्रमुख गंगाप्रसाद गुप्तासहित प्रहरी हवल्दार सुनिल कुमार र चालक सिपाही पवन कुमारलाई निलम्बन गरेका हुन्।
गुप्तामाथि चौपाया तस्करीमा संलग्न समूहसँग साँठगाँठ गरेको तथा अवैध असुली गरेको आरोप लागेको छ। एक साताअघि राति नेपालबाट चौपाया लोड गरेर भारततर्फ जाँदै गरेको ट्रकलाई गुप्ताले छोडिदिएको घटनापछि उनीमाथि छानबिन अघि बढाइएको हो।
भारतीय प्रहरीसँगको मिलेमतोमा नेपालबाट तस्करी गरिएका चौपाया पाठामारी नाका हुँदै भारत लैजाने गरिएको आरोपसमेत छ। निलम्बित प्रहरीमाथिको आरोपबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यसअघि भदौ अन्तिममा नेपालमा लागूऔषध आपूर्ति गर्ने तस्करहरूसँग साँठगाँठ गरेको आरोपमा गलगलिया थानाका प्रहरी उपनिरीक्षक राकेश कुमार निलम्बित भएका थिए।
कुमारलाई शंकास्पद आचरण, अनुशासनहीनता, कर्तव्य पालनामा लापरवाही, मनोमानी तथा वरिष्ठ अधिकारीहरूको आदेश उल्लङ्घन गरेको आरोपमा निलम्बन गरिएको थियो।
८ असोज २०८३, बिहिबार ०९:१९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो